प्रतिनिधि सभाको बैठक सुरू भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन्। तर यस पटक उनले विश्वासको मत पाउने सम्भावना न्यून छ।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए। तीमध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परिसकेको छ। 

प्रचण्डलाई साथ दिएका नेकपा एमाले, नागरिक उन्मुक्ति, जसपासहितका दलहरूले साथ छाडिसकेका छन्। प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्। 

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए। 

दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरिसकेका छन्। प्रचण्डले विश्वासको मत नपाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलाई प्रधानमन्त्रीको ढोका खुल्नेछ।