बेलबारी   मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट नगरसभाबाट पास गरेको छ । नगरको नीति तथा कार्यक्रममार्फत् प्रस्ताव गरिएको ९७ करोड १५ लाख ८५ हजार रुपियाँको बजेट प्रस्तुत रुपमै पास गरिएको नगरपालिकाले जनाएको छ ।12

विनियोजित बजेटमध्ये ५८ करोड ९३ लाख १८ हजार रुपियाँ चालु खर्चका रूपमा रहनेछ भने ३४ करोड ४९ लाख १७ हजार रुपियाँ पूँजीगत खर्चका रूपमा विनियोजन गरिएको छ । यसैगरी, वित्तीय व्यवस्थापन शीर्षकमा बेलबारी नगर सरकारले ५० लाख रुपियाँ विनियोजन गरेको नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले जानकारी दिइन् ।8
विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ कृषि, पशुपक्षी, उद्योग, सहकारी तथा रोजगारी शीर्षकमा दुई करोड ५९ लाख २३ हजार रुपियाँ खर्च गरिनेछ । यसैगरी, सामाजिक विकास समितिमार्फत् शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र लक्षित वर्ग शीर्षकमा ४९ करोड ७० लाख ४९ हजार रुपियाँ खर्च गरिनेछ । यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ नदी नियन्त्रण, फोहोरमैला व्यवस्थापन र वैकल्पिक उर्जा शीर्षकमा ७८ लाख रुपियाँ छुट्याइएको छ । यस्तै, भौतिक पूर्वाधार विकास समितिमार्फत् सडक, पुल, ढल निकास र भवन निर्माण शीर्षकमा नौ करोड १४ लाख ४३ हजार रुपियाँ बेलबारी सरकारले खर्च गर्नेछ ।10
यसैगरी, सार्वजनिक सेवा तथा क्षमता विकास शीर्षकमा एक करोड एक लाख रुपियाँ खर्च हुनेछ । यस्तै, वडामा सञ्चालन हुने परियोजनाका लागि आठ करोड ४९ लाखको वडा सिलिङ र तीन करोड ३० लाखको वडा–नगर साझेदारी गरी जम्मा ११ करोड ७९ लाख रुपियाँ खर्च गरिनेछ ।13
समपूरक कोषमा दुई करोड, मर्मत सम्भार कोषमा ४१ करोड र विपद् व्यवस्थापन कोषमा ४१ करोड रुपियाँ राखी खर्च गरिनेछ । यस्तै, वहुवर्षीय र क्रमागत भुक्तानीका लागि पाँच करोड रुपियाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।14
बजेट पास गर्ने मुख्य कार्यसूचीका साथ आज बिहीबार बसेको १५ औँ नगरसभाको २८ औँ बैठकमा बजेटका अतिरिक्त विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक ०८१, आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, न्यायिक समितिको प्रतिवेदन २०८१, आर्थिक वर्ष २०७९÷०८० को बेरुजु नियमित गर्ने प्रस्ताव, कर्मचारीको तलबी प्रतिवेदन २०८०÷०८१ र बेलबारी नगरपालिकाको आवधिक योजना आर्थिक वर्ष २०८१÷०८२ देखि २०८५÷८६ पनि पारित गरिएको नगरपालिकाको भनाइ छ ।9
यसैबीच, सोही बैठकका अवसरमा नगरपालिकाले नगरमा लामो समयसम्म सेवा गरेका पाँचजना महिला स्वास्थ्य स्वयंसेविकालाई जनही ६० हजार रुपियाँ नगद तथा सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरेको छ । सम्मानित हुने महिला स्वयंसेविकाहरूमा बेलबारी ५ का स्वयंसेविकाद्वय देवीमाया बस्नेत र तेजकुमारी बस्नेत, बेलबारी ६ की भक्तिकला राई, बेलबारी ९ की नारायणी उपाध्याय र बेलबारी १० की पवित्रादेवी राई रहेका छन् ।
यसैगरी, बिजुली मालपोत टोल विकास संस्थालाई उत्कृष्ट टोल विकास संस्थाका रूपमा नगद तीन लाख तथा सम्मानपत्रबाट सम्मान गरेको नगरपालिकाले सिंहदेवी र पाथीभरा टोल विकास संस्थालाई प्रतिसंस्था ५० हजार रुपियाँ नगद तथा सम्मानपत्रबाट सम्मान गरेको छ । यी दुवै संस्थालाई पनि कार्यसम्पादन मूल्याङ्कनका आधारमा सम्मान गरिएको नगरपालिकाले जनाएको छ