मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनुवारी चोकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सुनसरीको कोशी गाउँपालिका–१ का ३५ वर्षीय राजु साहको उपचारका क्रममा बुढीगंगाको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा बिहीबार बिहान मृत्यु भएको हो।
स्कुटरको पछाडि सवार कोशी–१ का ३६ वर्षीय योगेन्द्र साह र ३० वर्षीय सुरज साह, मोटरसाइकल चालक विराटनगर महानगरपालिका–३ का २९ वर्षीय कृष्ण माझी गम्भीर घाइते भएका छन्। घाइतेको विराट मेडिकलमै उपचार भईरहेको छ।
प्रदेश १–०२–०४२ प ५६५१ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४० प २८२८ नम्बरको मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल र स्कुटरका चालकले मापसे गरेर रातिको समयमा तीव्र गतिमा सवारी साधन चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।