कोशी प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ। बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले योजना पास गरेको हो।
योजना पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरूलाई विपद्का बेला सबै मिलेर काम गर्नु पर्ने बताए। उनले प्रदेश सरकारले आफूले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरूसँग समन्वय गरेर काम गर्ने बताए।
प्रदेश विपद् व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ। बैठकमा विपद्का बेला आइपर्ने घटनाहरूलाई मध्यनजर गर्दै गर्नुपर्ने कार्य योजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताए।
बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरूलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो। प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ। सबैभन्दा बढी उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ।
त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ।
प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ। त्यस्तै मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरूसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ।