विराटनगरस्थित कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मा प्रा.रविराज सिंहले पुनः नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कोशी अस्पतालको मेसु डा.चन्द्रभाल झालाई हटाएर सिंहलाई बुधबार जिम्मेवारी दिएका हुन्।

सर्जन डा.सिंह यसअघि पनि कोशी अस्पतालको मेसु भएका थिए। उनले चार महिना कोशीको जिम्मेवारी सम्हालेपछि सिंहको ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डा.झालाई १८ असार, २०८० मा मेसुको जिम्मेवारी दिइएको थियो। झाको कार्यकाल एक वर्ष पूरा भएपछि मेसु परिवर्तन भएको छ।

यसअघि सिंह गत फागुन २ गते कोशीको निमिक्त मेसु भएर ४ महिना जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा न्यूरो सर्जरीका जटिल प्रकारको शल्यक्रिया भएर विरामीको सफल उपचार भएको थियो।

सिंहलाई मेसुमा नियुक्ति गरेसँगै स्वास्थ्य मन्त्रालयले मेसु झालाई विरगन्जको नारयणी अस्पतालमा सरुवा गरेको छ।

संघीय सरकार परिवर्तन भएर स्वास्थ्य तथा जनसंख्या मन्त्री आएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने गरेको छ। स्वास्थ्यमन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुँदा अस्पतालको योजनाबद्ध विकास तथा सुधारको काम भने अगाडि बढ्न सकेको छैन।