नोभेम्बरमा काठमाडौं महानगरपालिकाले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ आयोजना गर्ने भएको छ।
बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर स्वदेश आएकी महानगरकी उपप्रमुख सुनिता डंगोलले आयोजना गर्ने बताएकी हुन्। उनले सम्मेलनमा विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर पाएको बताइन्।
उपप्रमुख डंगोल सहभागी भएको सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण थियो। राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र डंगोलले विचार राखेकी थिइन्।
फेस्टिभलको संवाद सत्रमा ‘वुमन अफ द वर्ल्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन्। ब्रिटिस काउन्सिलको निमन्त्रणामा डंगोल ९ जेठमा बेलायत गएकी थिइन्।