सगरमाथा आरोहणबाट फर्किने क्रममा पोखराका पर्यटन व्यवसायीको मृत्यु भएको छ। पोखरा २६ खराने फाँटका ३७ वर्षीय विनोदबाबु बस्ताकोटीको सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा चौथो शिविर नजिकै हिउँ पहिरोमा परेर मृत्यु भएको हो।

उनको निधनमा पोखरा महानगरपालिकाले श्रद्धान्जली सभाको आयोजना गरेको थियो। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बस्ताकोटीको पार्थिव शरीरमा नेपालको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा सभागृहमा राखिएको थियो।

बस्ताकोटीलाई पोखरा महानगरपालिका वडा नम्बर २६ ले वडा रत्न घोषणा गरेको छ। युवा पर्यटन व्यवसायी तथा साहसी युवा बस्ताकोटीको निधनले पोखराको पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको मेयर धनराज आचार्यले बताए।

उनले यसअघि सन् २०२३ को नोभेम्बर १ तारिखमा ६ हजार १ सय ४५ मिटर अग्लो लोवुचे पिक आरोहण गरेका थिए। चाइनिज भाषाको समेत राम्रो ज्ञान भएका बस्ताकोटी १६ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील थिए। बस्ताकोटीको मरेखरे घाटमा आजै दाहसंस्कार गरिएको छ।