बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित बेलबारी बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । ६ नम्बर वडा कार्यालयको आयोजनामा सुपारीका एक सय ५० थान बिरुवा रोपिएको ६ नम्बर वडाका वडाध्यक्ष टेकबहादुर राईले जानकारी दिए । उनका अनुसार क्याम्पसको आय वृद्धि गरी यसलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले क्याम्पसले बनाएको सुपारीको बिरुवा हुर्काउने योजनामा सहयोग पुर्याउन ६ नम्बर वडा कार्यालयले पनि आफ्ना तर्फबाट योगदानस्वरुप वृक्षारोपण गरिदिएको हो । सुपारी तेस्रो मुलुक निर्यात गर्न मिल्ने तथा यसको खेतीका लागि जमिन कम चाहिने भएकाले अनुकूलता विचार गरी सुपारीकै बिरुवा रोप्ने निर्णय गरिएको वडाध्यक्ष राईले उल्लेख गरे ।
क्याम्पसका क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले क्याम्पसले क्याम्पस परिसरको सौन्दर्य अभिवृद्धि गर्ने, विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने र आन्तरिक आय बढाउने उद्देश्यले योजनाबद्ध रूपमा काम गरिरहेको बताए । सुपारीको बजार मूल्य राम्रो रहेको र क्याम्पसमा जग्गा पनि प्रशस्त रहेकाले सुपारीको बिरुवा रोपी आयआर्जनको विकल्पका रूपमा प्रयोग गरिएको उनको भनाइ छ । विपन्न विद्यार्थीका लागि छात्रवृत्ति दिएर उनीहरूलाई अध्ययन छोड्नबाट बचाउन क्याम्पसले दाताहरूको सहयोगमा विपन्न वर्ग शैक्षिक अक्षयकोष सञ्चालन गरेको बताउँदै क्याम्पस प्रमुख कोइरालाले शैक्षिक संस्थाको स्थायित्वका लागि स्थानीयवासीले राम्रो सहयोग गरेकाले संस्था चलाउन सम्भव भएको प्रतिकृया दिए ।
वृक्षारोपण कार्यक्रममा ६ नम्बर वडाका वडा सदस्यहरू दीपकमल गच्छदार र राजेन्द्र खवास, महिला वडा सदस्य निलम राई, वडा सचिव आइतराज नेपाली लगायतको उपस्थिति रहेको थियो ।