बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ मा २०७८ सालदेखि सञ्चालनमा रहेको सर्पदंश उपचार केन्द्रले नयाँ भवनबाट सेवा दिन थालेको छ।
बेलबारी ४ स्थित बेतना सिमसारअगाडि कोशी प्रदेश सरकार तथा बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा बनेको नयाँ भवनबाट सेवा प्रारम्भ गरिएको केन्द्र सञ्चालक समितिका अध्यक्ष केशव घलेले जानकारी दिए । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको केन्द्रको गुणस्तरीय सेवाको निरन्तरताको शुभकामना व्यक्त गरे ।
सर्पदंश संवेदनशील विषय भएकाले यससम्बन्धी ज्ञान र अनुभवप्राप्त नेपाली सेनाका अवकाशप्राप्त जवानहरूले सर्पदंश उपचार केन्द्र सञ्चालनको अगुवाइ गर्नु प्रशंसनीय कार्य भएको उनले बताए। विद्यमान कानूनी व्यवस्थाअनुसार वनमा भौतिक संरचना बनाउन नमिल्ने भएपनि जनताको ज्यानसँग प्रत्यक्ष सरोकार राख्ने सर्पदंशजस्तो संवेदनशील अवस्थाको उपचार गर्नका लागि व्यावहारिक रूपमा आवश्यक देखिएकाले संरचना बनाई सेवा सञ्चालन गरिएको उनको जिकिर थियो । सबै सांसद तथा नगरपालिकाको सहयोगबाट मात्र केन्द्र सञ्चालनमा ल्याउन सफलता मिलेको बताउँदै उनले केन्द्रलाई बहुआयामिक उपयोगमा लानुपर्नेमा जोड दिए। फरक प्रसङ्गमा मन्त्री उप्रेतीले प्रदेश सरकारको विरोध गर्नेहरू नै प्रदेश सरकारको योजना माग्न फाइल बोकेर प्रदेश सरकारका मन्त्रालय पुग्ने गरेको बताउँदै प्रदेश सरकारले जनहितमा काम गरिरहेकाले देशलाई प्रदेश सरकार आवश्यक रहेको तर्क गरे ।

उपचार केन्द्र सञ्चालनको अगुवाइ गरिरहेको सर्पदंश उपचार समाज बेलबारीका सल्लाहकार प्रेमबहादुर गुरुङले २०७८ मा स्थापना भएको उपचार केन्द्रले हालसम्म तीन सय ३५ जना बिरामीको सफल उपचार गरेको जानकारी दिए। उनका अनुसार केन्द्रको सेवा स्तरीय बनाउनका लागि भेन्टिलेटर, इन्भर्टर, कम्प्युटरजस्ता सामग्री आवश्यक रहेकाले प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ।

सर्पदंशका बिरामीलाई समयमै उपचार सेवा प्रदान गर्न स्थानीयस्तरमा सर्पदंश उपचार केन्द्रको स्थापना र सञ्चालनको प्रभावकारी व्यवस्था सरकारले मिलाउनु आवश्यक छ ।