प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ पुगेका छन्।

काग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्री दाहाल देउवालाई भेट्न पुगेका हुन्।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम छलफल गरी पारित गर्ने तयारी गरेको छ। प्रधानमन्त्री दाहाल संसदको गतिरोध समाधनको छलफलका लागि विपक्षी दलका नेता देउवालाई भेट्न गएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दाहाल जानु अघि देउवाले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक, संसदीय समितिको कार्यादेश बनाउने जिम्मा पाएको कार्यदलमा रहेका सहमहामन्त्री जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलका लागि बूढानीलकण्ठ बोलाएका थिए।