मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख १६७५ नम्बरको बसले गएराति ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार मृतक पुरुषको नाम, थर, वतन नखुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।