नागरिकता सम्बन्धी कसुरमा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

चार दिनदेखि हिरासतमा रहेका सिरोहियालाई उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखेपछि अस्पताल भर्ना गरिएको हो।

उनलाई सुरुमा जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएकोमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सारिएको छ।

छाती तथा मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले सिरोहियालाई अस्पताल पठाउन आग्रह गरेका थिए।

सिरोहियालाई पहिलेदेखि नै मधुमेह, उच्च रक्तचापलगायतको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सिरोहिया गत मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको कार्यकक्षबाट पक्राउ परेका थिए।