बेलबारी : मोरङको बेलबारी नगरपालिका ४ स्थित बेतना सिमसारको सभाहलमा कछुवा संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। विश्व कछुवा दिवसका अवसरमा बेतना सिमसार सामुदायिक वन उपभोक्ता समूह र झापाको अर्जुनधारास्थित सुखानी शहीदस्मृति उद्यान कछुवा उद्धार तथा संरक्षण केन्द्रको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

kakakkaकार्यक्रममा कछुवा अध्येता तपिलप्रसाद राईले कछुवाको बासस्थान, जीवनचक्र, कछुवाका लागि आवश्यक जैविक वातावरणजस्ता विषयमा सम्बोधन गरेका थिए।

IMG_6763कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले जैविक विविधताको संरक्षणका लागि आवाज उठाउने कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै आफ्नो पालिकाका ११ मध्ये सात वडामा वन तथा विभिन्न वडामा सिमसार रहेकाले आफ्नो पालिका कछुवाको राम्रो आश्रयस्थल रहेको बताए। पानीको गुणस्तरअनुसार त्यस पानीमा जीव र वनस्पतिको जीवनको सम्भावना निर्धारण हुने भन्दै उनले सन् १९९० को दशकमा तीनजना अमेरिकी अध्येताहरूको टोलीले अनुसन्धान गर्दा बेतना सिमसारमा नौ प्रकारका कछुवा पाइने पुष्टि भएको तथ्य स्मरण गरे। हाल भने सोमध्ये तीन किसिमका कछुवाको अस्तित्व लोप भएको र चार स्पष्ट र दुई अस्पष्ट गरी बेतनामा अब ६ प्रकारका कछुवाको मात्र अस्तित्व रहेको बताउँदै उनले मानवीय व्यवहारका कारण जैविक विविधतामा पुगिरहेको क्षतिप्रति चिन्ता व्यक्त गरे।

IMG_6769यसैगरी, कार्यक्रमका सभापतिसमेत रहेका सुखानी शहीदस्मृति उद्यानका व्यवस्थापन समिति अध्यक्ष टङ्क बरालले आफूहरूले सञ्चालन गरेको उद्यानमा कछुवाको जीवन सम्भव रहेको तथ्य अनुसन्धानबाट पत्ता लगाई कछुवा उद्धार तथा संरक्षण केन्द्र सञ्चालनमा ल्याएको बताए। चुरेभन्दा तल पर्ने तराइको माथिल्लो भागमा कछुवाको जीवन सम्भव रहेको बताउँदै कछुवालाई बाँच्ने वातावरण दिन जैविक विविधताको संरक्षण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमकै बीच राष्ट्रिय समाचार समिति (रासस) का बेलबारी संवाददाता विवेक मिश्रलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा झापाको मेची बहुमुखी क्याम्पस तथा बेलबारीकै बेलबारी बहुमुखी क्याम्पसका गरी करिब ६० जना विद्यार्थीको सहभागिता रहेको थियो।

मोरङका जिल्ला वन अधिकृत विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको कार्यक्रममा बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेत, सोही संस्थाका प्रमुख सल्लाहकार इरन राई, सुखानी शहीदस्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुन राई लगायतको उपस्थिति रहेको थियो।