बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको हुरीबतासले विद्युत् सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख इञ्जिनीयर जगन्नाथ लामिछानेले त्यस क्षेत्रमा एक सय ५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको जानकारी दिनुभयो। उहाँले कतिपय ठाउँमा पोल गाडेर विद्युत् आपूर्ति गरिए पनि ग्रामीण क्षेत्रमा भने अझै समस्या रहेको बताउनुभयो।
लामिछानेका अनुसार खजुरा गाउँपालिकामा ७०, नेपालगञ्जमा ४०, जानकी गाउँपालिकामा १५ र राप्तीसोनारीमा करिब २० पोल भाँचिएका छन्। त्यसबाट रु ५० लाख बराबरको क्षति भएको र विस्तृत विवरण संकलनको काम भइहरहेको छ।
हुरीबतासले जानकी–४ मा कच्ची घर भत्केर च्यापिँदा गर्भवती २२ वर्षीया फारुन शाही र ८५ वर्षीया खटिमा शाही घाइते भएका थिए। यस्तै नेपालगन्ज–१२ निवासी ७१ वर्षीय अम्मरबहादुर खड्का र त्यसबाहेक डुडुवा तथा बुलबुलियामा रूखको हाँगा लागेर दुईजना घाइते भएको प्रहरीले जनाएको छ।
बर्दियाको बढैयाताल गाउँपालिकामा पनि हुरीबतासले ६० भन्दा बढी घरमा क्षति पुयाएको छ। यहाँ १५ घरमा पूर्ण, २० घरमा आंशिक र २५ घरमा सामान्य क्षति भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो।
हुरीबतासले स्थानीय किसानका लिची, आँप र तरकारीलगायत खेतीमा ठूलो नोक्सानी भएको स्थानीय प्रशासनले जनाएका छन्।