विराटनगर : सडक दुर्घटनामा मोरङको ग्रामथान गाउँपालिकाका सब इन्जिनियरको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार दुर्घटनामा गाउँपालिकाका ओभरसियर ३५ वर्षीय मोहम्मद मुक्तार खानको मृत्यु भएको हो।
सप्तरी घर भएका खान विराटनगर महानगरपालिका–१ मा डेरा बस्दै आएका थिए। उनले चलाएको को१ब १३८४ नम्बरको सरकारी मोटरसाइकल विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान–५ तेतरिया चोकमा राति ८ः५० बजेतिर दुर्घटनामा परेको डीएसपी बस्नेतले बताए।
सडकको साइडमा रोकेर राखेको ना५ख ७०७९ नम्बरको टिपरको पछाडिको भागमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। हरैँचाबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा खान गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए।
दुर्घटनालगत्तै टिपर र चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।