बागलुङ नगरपालिका-४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ। बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी घर भई बागलुङ बजार बस्दै आउनुभएका पुनले विगत छ वर्षदेखि रिसोर्टसँगै माछापालन गर्दै आउनुभएको छ।
उहाँले १४ वर्ष दक्षिण कोरियामा बिताएर फर्केपछि माछापालन सुरु गर्नुभएको हो। तीन वर्षअघिदेखि माछा खान आउने ग्राहकलाई मध्यनजर गरी उहाँले रिसोर्ट पनि खोल्नुभएको छ।
“श्रमिकका रूपमा कोरिया पुगेको थिएँ। कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ, कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ”, उहाँले भन्नुभयो, “कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट छ लाखसम्म आम्दानी भयो। त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ।”
पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ। कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उहाँको भनाइ छ। रु ५० लाख लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताउनुभयो।
उहाँले छोरा अमृतलाईसमेत माछापालनमा लगाउनुभएको छ। माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिनुभएको छ। “कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु”, उहाँले भन्नुभयो।
चार वर्ष निकै फस्टाएको माछापालन अहिले घटेको उहाँको भनाइ छ। १४ रोपनी जग्गाको वार्षिक रु एक लाख ५० हजार भाडा तिर्नुपर्छ। उहाँले रिसोर्ट, तीन वटा माछापोखरी, रेष्टुराँ, तीन वटा प्लास्टिक टनेल र तरकारीखेती लगाउनुभएको छ।
पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उहाँले बताउनुभयो। उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिनुभयो। तीन लाखको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२र१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा रु पाँच छ लाखमै सीमित हुने उहाँको भनाइ छ।