मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको काठमाडौं बत्तिसपुलतीस्थित कुमारी टोलमा शनिबार राति साढे ७ बजेतिर हत्या भएको थियो। हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान गर्दा सामान्य निहुँमै हत्या भएको खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार शनिबार राति बाटो हिँड्दा ठोक्किएको निहुँमा ४ जना किशोरसँग धिमालको विवाद भएको थियो। त्यही विवादपछि किशोरको समूहले चक्कु प्रहार गरी हत्या गरेको पाइएको एसपी अधिकारीले बताए।

धिमालको हत्या आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ परेका १८ वर्षभन्दा कम उमेरका रहेकाले प्रहरीले उनीहरूको नाम, ठेगाना सार्वजनिक गरेको छैन। उनीहरू साथीको जन्मदिनको भोजमा गएर फर्किएको पाइएको छ।

प्रहरीका अनुसार उनीहरूले मदिरा पिएका थिए। नशामा रहेको र ठोक्किएको निहुँमा विवाद बढ्दै जाँदा चक्कु हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

‘मृतक र पक्राउ परेकाहरू बीच कुनै चिनजान पनि देखिँदैन। अन्य कारण पनि देखिँदैन। ठोक्किएकै निहुँमा हत्या भएको देखिन्छ,’ एसपी अधिकारीले भने।

किशोरहरूको आक्रमणबाट धिमालसँगै रहेका मोरङकै मनिष चौधरी सामान्य घाइते भएका छन्।