कामिरिता शेर्पाले सगरमाथाको २९औँ पटक सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका छन्। कामिरिताले आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।

उनी सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हुन्। यस अघि पनि यो किर्तिमान उनकै नाममा रहेको थियो। सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय कामिरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडेका हुन्।

सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। गत वर्ष सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेका थिए। पासाङ दावाले यसपटक सगरमाथा आरोहण गर्ने या नगर्ने टुङ्गो छैन।

सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो। पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन्।

कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ। हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उनको बुझाइ छ।

कामिरिताले वि.सं.२०७९ सालको वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गरेका थिए। सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए। त्यसको केही दिनलगत्तै उनी दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल थिए।

उनले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए। उनले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन्।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेकेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ।