संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलगायत क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त बनेको छ। बीबीसीका अनुसार ओमान, बहराइनलगायत मुलुकमा पनि छोटो समयमा भारी वर्षा भएको छ।

तीन दिन लगातार भारी वर्षा हुँदा ओमानमा १९ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार वर्षाका कारण दुबईमा एक जनाको मृत्यु भएको छ।

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा पनि भारी वर्षाका कारण १०० जनाभन्दा बढीको मृत्यु भएको छ।

भारी वर्षाका कारण यूएई, ओमानलगायत क्षेत्रका स्कुल, कलेजहरू बन्द गरिएको छ। बुधबार ५ घण्टासम्म दुबईको अन्तर्राष्ट्रिय विमानस्थल बन्द नै रह्यो। आज, बिहीबार पनि विमानस्थलका सेवाहरू ढिला भइरहेको छ। अधिकांश क्षेत्रका सडक यातायात बन्द छन्।