लामो समयपछि हिउँदे वर्षात भएपछि भोजपुरका किसान खुसी भएका छन्। लामो खडेरीको मार परेका किसान बर्सात भएसँगै हिउँदेबाली सप्रने भन्दै खुसी भएका हुन्।
वर्षातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदेबालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताउनुभयो। खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उहाँको भनाइ छ। “लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,” फुयालले भन्नुभयो, “पानी नपर्दा हिउँदेबाली बारीमा नै सुकिसकेका थिए। ढिलै भए पनि पानी परेसँगै दिउँदेबालीको उत्पादन बढ्नेमा आशावादी छौँ।”
समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताउनुभयो। गहुँ, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदेबालीलाई बर्सातले फाइदा पुगेको उहाँको भनाइ छ। जिल्लाका सबै भू–भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ। यहाँ छ महिनादेखि पानी पर्न सकेको थिएन।