मलेसियामा कार्यरत रहेको अवस्थामा पीडित भई अलपत्र भएका नेपाली श्रमिकहरुको उद्धार गर्दै आएको पिएनसिसिले बेबारिसे अवस्थामा रहेका नेपालीहरुको उद्धार गरि स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेको छ।

नेपाली राजदूतवाससंगको सहकार्य साथै एनआरएन, प्रवासी नेपाली मञ्च, प्रवास नेपाली विभाग लगायतका संघ संस्थाहरुसँगको समन्वयमा पिएनसिसिले उक्त अभियान सुरु गरेको हो। सोही अभियान अन्तर्गत बेबारिसे अवस्थामा रहेका ५ जना नेपालीहरुको उद्धार गरि मार्च २१ को उडानबाट स्वदेश फिर्ता पठाएको हो।

यस अभियान अन्तरगतको पहिलो चरणमा स्वदेश फिर्ता हुनेमा सुनसरीका बिष्णु बहादुर मगर, नवलपरासीका दीनेश फेवाली, तेह्रथुमका बाबुराम लिम्बू, कैलालीका डगराम चौधरी र लमजुङका कर्ण बहादुर गुरुङ रहेका छन। उद्धार गरिएका मध्ये बिष्णु बहादुर मगरको पिएनसिसि र कर्ण बहादुर गुरुङको तमु समाजले नेपाल फर्किदा लाग्ने सम्पूर्ण खर्च ब्यहोरेको हो। त्यसैगरि डगराम चौधरी, दीनेश फेवाली र बाबुराम लिम्बूको लागि अध्यागममा लाग्ने खर्च क्रमशः प्रवास नेपाली विभाग र नेपाल मगर संघ र तेह्रथुम सेवा समाजले ब्यहोरेको हो भने हवाई टिकट क्रमशः पिएनसिसि, थारु कल्याणकारी सभा र प्रवासी नेपाली मञ्चले उपलब्ध गराएको हो।

पिएनसिसि मलेसियाका प्रतिनिधि पूर्ण लिम्बूका अनुसार उद्धार गर्दा बिमारी अवश्थाका विष्णु बहादुर मगर नेपाली होटलमा अलपत्र भेटिएका थिए। उनलाई उपचारको लागि हस्पिटल पुर्याएको भएपनि केहिदिनको उपचार पश्चात हस्पिटलले सडकमा छाडेको र पुनः उद्धारगरि सेल्टर हाउसमा ल्याउनु परेको थियो।

त्यस्तै दीनेश फेवाली र कर्ण बहादुर गुरुङलाई पूर्ण रुपमा सडकमा रहेको अवश्थाबाट उद्धार गरिएको र मानसिक बिरामी डगराम चौधरी अनि बाबुराम लिम्बूलाई अलपत्र अवश्थाबाट उद्धार गरिएको हो। उद्धार गरिएका सबै पीडितहरुलाई एनआरएनए द्धारा सञ्चालित सेल्टर हाउसमा आश्रय दिईएको थियो। यात्रा अनुमति पत्रका लागि नेपाली राजदूतवासले निस्शुल्क उपलब्ध गराएको हो भने राहदानी हुनेहरुको हकमा दूतवासका कर्मचारी जय प्रकाश गिरीले कम्पनीसंग समन्वय गरि उपलब्ध गराएको हो। सेल्टर हाउसमा बस्नेहरुको खानपिनको बन्दोबस्त पिएनसिसिले गरेको हो।