नागरिक उन्मुक्ति पार्टीले ‘कोशी’ नाम खारेज गर्न माग गरेको छ। शनिवार इलामको चुलाचुलीमा बसेको नागरिक उन्मुक्ति पार्टीको सचिवालय बैठकले सो माग गरेको हो।

बैठकको निर्णयबारे सो पार्टीका महासचिव ठाकुरसिंह थारुद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘प्रदेश नं. १ को नामाकरणलाई लिएर भइरहेको पहिचानवादीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदेश सरकारले जबर्जस्त रुपमा नामाकरण गरेको कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने ।’ 

बैठकले प्रदेश १ को नामाकरण ‘कोकिली’ बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल चलाउने समेत निर्णय गरेको छ ।  सचिवालय बैठकले २०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उप–निर्वाचनबारे ब्यापक छलफल गरी पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।