भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ। जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो।
दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा स्वास्थ्य सेवा पुयाउने उद्देश्यले कोशी प्रदेशका सांसद विनोद बान्तावा, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरका सञ्चालक सांसद सुनील शर्मा, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र आमचोकका अध्यक्ष अशोक राईको सहयोगमा गत पुस २३ र २४ गते निःशुल्क शिविर सञ्चालन गरिएको थियो।
दुई पालिकामा सञ्चालन गरिएको शिविरबाट करिब दुई हजार दुई सय जनाले निःशुल्क सेवा लिएका अस्पतालका बजार व्यवस्थापक अधिकृत नवीन दाहालले बताउनुभयो। शिविरमार्फत सामान्य रोगको निःशुल्क औषधि वितरण थियो।
शिविरका क्रममा जटिल समस्या भएका एक सय ७८ जना बिरामीलाई निःशुल्क शल्यक्रिया तथा थप उपचारका लागि रेफर गरिएको थियो। रेफर गरिएकामध्ये जटिल किसिमका बिरामीको शल्यक्रिया गरिएको दाहालले बताउनुभयो। शिविरबाट चिकित्सकसहितको टोलीले जनरल तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी, दन्त, नाक कान घाँटी, न्यूरो फोक्सो, कलेजो, नसा रोगलगायतको उपचार सेवा प्रदान गर्नुका साथै औषधि वितरण गरिएको थियो।
रिफर गरिएकामध्ये हालसम्म विभिन्न रोगका १८ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको बजार व्यवस्थापक दाहालले बताउनुभयो। सबै बिरामीको औषधिबाहेक सम्पूर्ण खर्च निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो।
युरोलोजीको तीन, अर्थोपेडिक हार्डजोर्नीका चार, स्त्रीरोगतर्फ पाँच, नाक, कान तथा घाँटी एक, न्यूरो सर्जरी एक, जनरल सर्जरी तीन र मुटुको एक जनाको शल्यक्रिया गरिएको दाहालले जानकारी दिनुभयो। डेन्टलमा सात जनाको निःशुल्क उपचार भएको उहाँको भनाइ थियो। उनीहरुलाई भर्ना गरेर नै उपचार गरिएको अस्पतालले जनाएको छ।