बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन्। गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी बाढी प्रभावित क्षेत्रको मैदानमै उत्रिएर काम गरिरहेका हुन्।

उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो।

सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल आवश्यक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हवाई मार्ग (हेलिकप्टर) मार्फत अस्पताल पठाउने तयारी भइरहेको छ। उद्धार गरिएका व्यक्तिहरुलाई स्ट्रेचरमै राखेर अक्सिजन दिंदै गर्दा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर हिडिरहेको अवस्थामा देखिएका हुन्।

सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको विवरण प्राप्त भएकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

गृहमन्त्री गुरुङले कार्यक्षेत्रमै रहेर उद्धार टोलीलाई आवश्यक स्रोत–साधन परिचालन र निर्देशन दिँदै खोज कार्यलाई तीव्र बनाउन सहजीकरण गरिरहेका छन्। तर फिल्डमै खटेर स्टन्ट गरेको, सामाजिक संजालमा लोकप्रियता कमाउन खोजेको र व्यवस्थापन एवम समन्वयमा काम नगरेको भनेर गृहमन्त्रीको आलोचना भइरहेको छ।