नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्ने विषयमा विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्। मंगलबार (भदौ १६) काठमाडौंको विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उनले पार्टीका पूर्वपदाधिकारी, केन्द्रीय सदस्य तथा संघीय सांसदहरूसँग छलफल गरेका हुन्।

छलफलमा धनराज गुरुङ, बलबहादुर केसी, बद्री पाण्डे, सुजाता कोइराला, शंकर भण्डारी, रामहरि खतिवडा, सरिता प्रसाईं, मीनेन्द्र रिजाल, किरण पौडेल, पद्मनारायण चौधरीलगायत नेता सहभागी रहेका कोइरालाको सचिवालयले जनाएको छ। 

प्रतिनिधिसभा सदस्य गीता सेन्दाङ, डा. चन्द्रमोहन यादव, रेखा यादव, रुक्मिणी कोइराला र रिना उप्रेती तथा राष्ट्रियसभा सांसद वासुदेव जंगली, गीता देवकोटा, विष्णु सापकोटा र रञ्जित कर्णको पनि सहभागिता थियो।

पार्टीलाई एकताबद्ध बनाउने विषयमा कोइरालाले यसअघि भदौ १५ गते पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। उनले भदौ १४ गते नेता डा. शशांक कोइरालासँग छलफल गरेका थिए।

आन्तरिक मतभेद समाधान गर्दै कांग्रेसलाई एकढिक्का बनाउने प्रयासस्वरूप उनले विभिन्न नेताहरूसँग छलफललाई निरन्तरता दिएका सचिवालयले जनाएको छ।