नेपाल कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनपरी गर्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिएका छन्। 

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारले सुकुमबासी, दलित, मधेसी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप लगाएका हुन्। 

उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकारको संज्ञा समेत दिएका छन्। बैठकमा बोल्दै सांसद विष्टले ‘यो सरकार, सुकुम्बासी, दलित, मधेसी र गरिबमारा सरकार हो’ भन्दै आक्रोश पोखे। 

उनले अगाडि भने, ‘यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई। जसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो। आज त्यही इतिहासको नाममा कालो चस्मा र कालो कोट लगाएर फेरि नेपाली जनतालाई एकचोटी विद्रोह गर्न बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ।’ सरकारले सुशासनको नाममा जथाभावी गर्न खोजेमा त्यसको प्रतिवाद सडकबाटै हुने भन्दै उनले सरकारको घोर भर्त्सना गरे।

उनले प्रहरी प्रशासनमाथि भइरहेको राजनीतिक हस्तक्षेपको विषयमा पनि प्रश्न उठाए। ‘एउटा डिएसपीले म नेपाल सरकारको प्रहरी हुँ भन्न नपाउनेरु’ भन्दै उनले गम्भीर प्रश्न गरे। ती डिएसपीले म प्रधानमन्त्रीको प्रहरी होइन भनेर भन्दै गर्दा उनलाई जिल्लामा झिकाइएको भन्दै विष्टले आपत्ति जनाए। यस्ता अत्याचारी क्रूर शासकका विरुद्धमा नेपाली जनता धेरै पर्खेर बस्न नसक्ने उनको भनाइ छ।

म नेपाल सरकारको प्रहरी हुँ, प्रधानमन्त्रीको प्रहरी होइन भन्ने अभिव्यक्ति दिएकै कारण डिएसपीलाई जिल्ला तानिएको घटनाप्रति उनले कडा खेद व्यक्त गरे।