राप्रपा सांसद खुस्बु ओलीले सत्तारुढ रास्वपाका सांसदलाई सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रश्न गरेकी छन्। सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित अनुकूल नरहेकोमा प्रस्ट हुन रास्वपा सांसदलाई उनको आग्रह छ। 

आजको प्रतिनिधिसभा बैठकमा उनले जेठ १७ गते सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय हितमा रहेको भन्ने लागे पक्षमा बोल्न आग्रह गरिन्। “के प्रधानमन्त्रीको उक्त अभिव्यक्ति तपाईंहरूलाई राष्ट्रिय हित अनुकूल लाग्छ। यदि, मान्नुहुन्छ भने सदनमा उभिएर त्यसको पक्षमा बोल्नुहोस्। यदि, मान्नुहुन्न भने प्रधानमन्त्रीलाई सच्याउन आग्रह गर्नुहोस्,” उनले भनिन्। 

उनले राष्ट्रको विषयमा लिएको मौनता राजनीतिक अभिव्यक्ति भएको बताइन्। “सत्तापक्षका साथीहरूको मौनतालाई तीन करोड जनताले कसरी बुझ्ने ?,” उनले सोधिन्। 

उनले सरकारको आधिकारिक धारणा पार्टीको महाधिवेशनबाट आउने हो भन्दै प्रश्न पनि गरिन्। “के पार्टीको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो ?” उनको प्रश्न छ, “संसद् पार्टीको मञ्चभन्दा सानो संस्था भएको हो?”