संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ले मन्त्रालयमा भेटघाटसम्बन्धी जारी गरिएको सूचनालाई लिएर फैलाइएको भ्रमप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले केही स्वार्थ समूहहरूले आफूलाई प्रलोभनमा पार्न नसकेपछि जानाजानी विवादमा तान्न खोजेको आरोप लगाएका छन्।
मन्त्री पौडेलले बजारमा फैलाइएका हल्लाहरूलाई पुरानो प्रवृत्तिको रूपमा टिप्पणी गर्दै यस्ता गतिविधि नयाँ नभएको बताएका छन्। उनले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैं खुला रहने स्पष्ट पार्दै हालै जारी गरिएको सूचनाको गलत व्याख्या गरिएको बताएका छन्।
उनका अनुसार अनलाइनमार्फत भेटघाटको मिति र समय तय गर्ने व्यवस्था प्रविधिमैत्री बनाउनका लागि मात्रै लागू गरिएको हो। अन्य माध्यमबाट भेटघाटमा कुनै रोक नलगाइएको स्पष्ट पार्दै उनले आवश्यक परे तत्काल वा केही समयअघि नै भेटघाटको समय मिलाउन सकिने बताएका छन्।
मन्त्री पौडेलले सर्वसाधारणलाई सुझाव, सल्लाह वा गुनासो लिएर जुनसुकै बेला मन्त्रालयमा आउन सकिने बताएका छन्। यसका लागि उनले आफ्नो व्यक्तिगत मोबाइल नम्बरसमेत सार्वजनिक गरेका छन्। तर कामबाहेक केवल बधाई दिन वा निकटता देखाउन मन्त्रालय नआउन उनले आग्रह गरेका छन्।
काम गर्ने शैलीमा सुधार ल्याउने प्रयास भइरहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसलाई अनावश्यक विवादको विषय नबनाउन आग्रह गरेका छन्।




















