नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा निरङ्कुश राजतन्त्रसँग लडेर आएको पार्टी अहिलेको क्षणिक अराजकतासँग नझुक्ने बताएका छन्।
यो सरकार प्रतिगामी, संविधान मिचुवा र ‘हाहु’मा बनेको उनको टिप्पणी छ।
एमालेको शिक्षा तथा मानव स्रोत विभागले आयोजना गरेको कार्यक्रममा ओलीले तोडफोड र आगजनीको आडमा भल छोपेर बनेको सरकारसँग एमाले नझुक्ने बताएका हुन्।
‘संविधान मिचेर प्रधानमन्त्री हुन खोज्ने, यो भनेको सोझै असंवैधानिक, प्रतिगामी, संविधान मिचुवा र हाहुमा बनेको सरकार हो’, ओलीले भने, ‘तोडफोड, आगजनी र आतङ्कको आडमा भल छोपेर निर्माण गरिएको यो सरकारसँग एमाले डराउँछ ?’
भदौ २३–२४ मा प्रतिगामी घटना घटाएका अहिलेका प्रतिगामीहरू अदृश्य र कमजोर रहेको टिप्पणी गरे।
‘अहिलेका प्रतिगमनकारीहरू अदृश्य, कमजोर, कुनै ग्रान्ड नभएका हुन्। यिनीहरूको न इतिहास, न परम्परा, न जनसमर्थनको आधार छ,’ ओलीले भने, ‘वास्तवमै हाहुमा आगो लगाएको भरमा, लुटेको भरमा आतङ्ककारी अभ्यास गरेको भरमा बनेको हो। डिस्कर्डबाट शासनमा ल्याउने कस्तो परम्परा हो ? कस्तो भोटिङ हो ? रेजा लगाएको कि अमेरिकामा जस्तो मतपत्रमा प्वाल पारेर भोटिङ गरेको ?’
ओलीले विपत्तिको समयमा पनि कम्युनिस्ट कार्यकर्ताले धैर्य गर्नुपर्ने बताए।
‘अनेक हिसाबले बलिया हौँ भन्ने सबै प्रकारका बेठीक शक्तिलाई झुकाएर आएको तथा नझुकेको एमाले २ दिनको एनार्किजमबाट झुक्दैन। २४ गतेको आगजनी र तोडफोडको भलबाट बनेको यो सरकारको वैरभाव लोकतन्त्र र संविधानसँग छ। यसको वैरभाव प्रतिनिधि सभासँग छ,’ ओलीले भने।