जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन्।
उनीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो। यससँगै महाराजगञ्जका प्रहरी हत्या आरोपमा पक्राउ पर्नेको संख्या दुई पुगेको छ। यसअघि काभ्रे घर भएका युवराज क्याप्छाकी पक्राउ परेका थिए।
महाराजगञ्ज वृत्तका प्रहरीलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पहिचान गरी पक्राउ गरेको हो। प्रहरीले पौडेल र क्याप्छाकी विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइने जनाएको छ।
२४ भदौमा भएको जेन जेड आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको थियो। जवान थापालाई ‘डीएसपी’ भन्दै कुटपिट गरी विभत्स तवरले हत्या गरिएको थियो। सार्वजनिक भिडियोमा ‘गोली हान्न दिने तँ डीएसपी हैनस्’ भन्दै पौडेलले लठ्ठी प्रहार गरिरहेको दृश्य समेत देखिन्छ।