बेलबारी । लामो समयदेखि सञ्चालन अवरुद्ध अवस्थामा रहेको बेलबारी नगरपालिका–३ स्थित नेपाल फिड्स एण्ड एग्रोटेक प्रा.लि. पुनः सञ्चालनमा आएको छ। करिब रु.५० करोडको लागतमा राष्ट्रिय खाद्य बैँक लिमिटेडले उद्योगलाई आफ्नो स्वामित्वमा लिएर घटस्थापनाको दिन विशेष समारोहमार्फत पुनः सञ्चालन गरेको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर कुमार प्रधानले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले उद्योगले गुणस्तरीय उत्पादनमा जोड दिनुका साथै बजार व्यवस्थापन र स्थानीय सहकार्यलाई महत्त्वपूर्ण मान्नुपर्ने धारणा राखे।
राष्ट्रिय खाद्य बैँक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले पुनः सञ्चालनसँगै स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले दशैँको शुभकामना दिँदै सबैलाई यस अभियानमा हातेमालो गर्न आग्रह गरे।
हाल उद्योगमा गाईका लागि दाना उत्पादन सुरु भइसकेको र छिट्टै कुखुरा तथा बङ्गुरका लागि पनि दाना उत्पादन थालिने प्रबन्धक निर्देशक जि.पी. ढुङ्गेलले जानकारी दिए।
साथै, आगामी दिनमा तेल उत्पादन सुरु गर्ने र बेलबारीमै प्रादेशिक कार्यालय स्थापना गरी स्टोरेज, प्याकेजिङ र ब्रान्डिङमार्फत आफ्नै लोगोमा खाद्य वस्तु बजारमा ल्याउने योजना रहेको प्रबन्धक निर्देशक ढुङ्गेलले बताए।
कार्यक्रम राष्ट्रिय खाद्य बैँक लिमिटेडका कोशी प्रदेश संयोजक माधव थापाको सञ्चालनमा सम्पन्न भएको थियो। हालैसम्म २२ जिल्लामा विस्तार भइसकेको अभियानलाई निकट भविष्यमै देशव्यापी रुपमा अघि बढाइने जनाएको छ।
