काठमाडौं महानगरपालिकाले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सघाउने जनाएको छ।

सोमबार काठमाडौंमा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरूमाथि सुरक्षाकर्मीले गोली प्रहार र लाठीचार्ज गरेपछि थुप्रै प्रदर्शनकारी घाइते भएका छन्। धेरैजसो घाइतेहरूलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा लगिएको छ।

अस्पतालमा घाइतेहरूको संख्या बढेपछि बेड अभावका कारण उपचारमा समस्या भएको ती अस्पतालले जानकारी दिएका छन्।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार नगर प्रहरीको टोलीले ती अस्पतालमा पुगेर घाइतेहरूको उद्धार र आवश्यक सहयोग गरिरहेको छ। मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरी खटाइएको उनले जानकारी दिए।

घाइतेहरूलाई सिभिल र ट्रमामा उपचारका लागि ठाउँ नपुगेको अवस्थामा अन्य अस्पतालमा लैजान नगर प्रहरी खटिने उनले बताए। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर ६ जनाको मृत्यु भएको छ। अहिले पनि प्रदर्शनकारीले माइतीघर, बानेश्वर, तिनकुने क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।

प्रशासनले बानेश्वर, मध्यबानेश्वर माइतीघर, शंखमुख क्षेत्रमा कुर्फ्यू आदेश जारी गरेपनि जेन–जी युवाहरूले अवज्ञा गरेर प्रदर्शन जारी राखेका छन्।