पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बिहीबार शुभम् ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्धी कानुन नबनेको बताएका हुन्।
उनले भने, ‘विद्धानहरू, शिक्षाविद्हरूले भनिरहनुभएको छ, राम्रो कानुन आइरहेको छैन। जुन देशले शिक्षित नागरिक र स्वस्थ्य नागरिक उत्पादन गर्न सक्दैन। त्यो देश बन्न सक्दैन। कहावत छ, देशको एउटै कुराले कुन कुराले देश बनाउन सकिन्छ त्यो शिक्षा हो।’
उनले शिक्षित र स्वस्थ नागरिक संसारकै शक्तिशाली जनशक्ति भएकाले देशकै ठुलो पुँजी रहेको धारणा राखे।