बेलबारी। सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) का अध्यक्ष एलिश ओझामाथि विद्यार्थी कोष दुरुपयोग गरेको आरोप लागेको छ। स्ववियुका पदाधिकारीहरूले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले अनेरास्ववियुको २४औं महाधिवेशनका क्रममा क्याम्पस प्रशासनबाट प्राप्त रु. २० हजार रकम व्यक्तिगत रूपमा गैरजिम्मेवार ढंगले प्रयोग गरेको आरोप लगाएका छन्।
विज्ञप्तिमा स्ववियु जस्तो साझा संस्थाको स्रोत साधन विद्यार्थी हित विपरीत प्रयोग हुनु दुखद र आपत्तिजनक रहेको उल्लेख गरिएको छ । कोष दुरुपयोग गर्नु स्ववियुको मूल्य–मान्यता र विद्यार्थी आन्दोलनको उपलब्धिमाथि आघात भएको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्ति अनुसार, अध्यक्ष ओझाले कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमति बिना व्यक्तिगत रूपमा रकम बुझेको विषय सार्वजनिक हुनु अत्यन्तै दुर्भाग्यपूर्ण र संस्थागत गरिमामाथि प्रश्न खडा गर्ने कार्य भएको बताइएको छ।
स्ववियु पदाधिकारीहरूले आफ्नो सामूहिक धारणा प्रस्तुत गर्दै पाँच बुँदे माग समेत राखेका छन्।
- अध्यक्षले २४ घण्टाभित्र प्राप्त रकमको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने,
- सहमति बिना गरिएको कार्यको स्पष्टिकरण दिनुपर्ने,

- सत्यतथ्य पत्ता लगाउन छुट्टै छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने,
- भविष्यमा यस्ता गैरजिम्मेवार कार्य स्वीकार्य नहुने,
- र क्याम्पस प्रशासनले अध्यक्षलाई रकम के आधारमा निकासा गरियो भन्नेबारे २४ घण्टाभित्र लिखित जवाफ दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।
स्ववियु पदाधिकारीहरूले अध्यक्षको उक्त कार्य संस्थाको परम्परा, सहमतिको सिद्धान्त र सम्पूर्ण प्रतिनिधिहरूको विश्वासमाथि ठेस पुर्याउने खालको भएको भन्दै तत्काल कदम चाल्न सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।