बेलबारी – १, वरोडाँगीस्थित सिशौली खेल मैदानमा सुरु भएको तेस्रो सिशौली नक–आउट फुटबल प्रतियोगिता २०८२ को उद्घाटन खेलमा घंघरु फुटबल क्लब केराबारीले सेमी–फाइनलमा स्थान सुरक्षित गरेको छ।
प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले गरेका हुन्। उद्घाटन खेलमा आयोजक सिशौली फुटबल क्लब (बी) र घंघरु फुटबल क्लब केराबारीबीच प्रतिस्पर्धा भएको थियो।
निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राइ ब्रेकरमा पुगेको थियो। ट्राइ ब्रेकरको निर्णायक क्षणमा सिशौली फुटबल क्लब (बी) का खेलाडी जर्सी नं. ३ का सरोज छेत्रीको प्रहारलाई घंघरु फुटबल क्लबका गोलरक्षक पेम्बा तामाङले रोकेका थिए। यसै गोल बचाउका कारण घंघरु फुटबल क्लब पहिलो सेमी–फाइनलमा प्रवेश गर्न सफल भयो।
उद्घाटन खेलको म्यान अफ द म्याच पनि घंघरु फुटबल क्लबका गोलरक्षक पेम्बा तामाङ घोषित भए।
प्रतियोगिताको विजेताले नगद रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
भोलि दिउँसो २ बजे दोस्रो खेल बेतना युनाइटेड बेलबारी र ब्रदर कलेक्सन केराबारीबीच हुनेछ।
