नेपालभरका हिन्दु धर्मावलम्बीहरूले आज बाबुको मुख हेर्ने दिन धूमधामका साथ मनाउँदै छन्।
आजको दिन छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् भने बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्ड दान तथा श्राद्ध गरी सिदा दिन्छन्।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्ड दान तथा सिदादान गर्नेहरूको घुइँचो छ।
साथै, विभिन्न धार्मिक पीठ, देवालय जस्तै: रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिने चलन पनि रही आएको छ।
यसको साथै, प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राएर कुशे औँसी पनि मनाउँदै छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको पनि रहेको छ भने आजको दिनलाई थोरै दान गरपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ।