मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन्।
मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
आरोपी इम्तियाजले कम्ब्याट ट्राउजरको अगाडी कम्मरमा पेटिलाइनमा लागुऔषध लुकाएर ल्याएका थिए। नेपालमा बेच्ने उद्देश्यले भारतबाट सो लागुऔषध ल्याएको उनीहरूले प्रहरीलाई बयान दिएका छन्।
ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ।