नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। कांग्रेसको प्रदेश संसदीय दलका नेता बानियाँलाई मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बानियाँ बागमतीको छैठौं मुख्यमन्त्री बनेका छन्। उनीभन्दा अगाडि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामाले मुख्यमन्त्रीको पद सम्हालेका थिए।
बानियाँले कांग्रेस र नेकपा एमालेका गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए। कांग्रेस बागमतीका सभापतिसमेत रहेका बानियाँ यसअघि दुईपटक संघीय सरकारमा राज्यमन्त्री भइसकेका छन्।