चीनको तिब्बत क्षेत्र हुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि बाढी आएको छ। 
बुधवार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदी किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढीका कारण रसुवागढी–स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षति भएको जानकारी दिए। 
उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केही क्षेत्रहरू उच्च जोखिममा रहेकोले ती क्षेत्रहरूलाई हाइ अर्लटमा राखिएको छ। त्यसबाहेक तल्लो तटिय क्षेत्रमा पर्ने सबै स्थानहरूमा पनि सर्तकता अपनाउन भनिएको छ।बाढीले हाल सम्म मानवीय क्षति गरेको कुनै खबर नभएको उनले बताए।
रसुवागढी–स्याँफ्रुबेंसी सम्मको सड्क यस अघि असार २४ गतेको बाढीले बगाएर क्षति भएपनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरी बाटो भत्किएको छ। यस अघिको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो। सोही स्थानमा अस्थायी रूपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अवरुद्ध गरेको छ।