नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्।वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ।
एएफसी महिला एसियन कप छनोटका दौरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई पत्र पठाएको थियो । त्यसको जवाफमा वाइल्डले राजीनामा नै पठाएका हुन्।
एन्फा अध्यक्ष पंकज नेम्वाङ हाल बाहिर रहेकोले कोचको राजीनामाको विषयमा के गर्ने भन्ने निर्णय एन्फाले नगरिसकेको सोतले जनाएको छ। एसियन कप छनोट दौरान कप्तान चयनको विषय विवादित बन्दा मुख्य प्रशिक्षक वाईल्ड र नेपाली टिम व्यवस्थापनबीच पनि विवाद भएको थियो।
वाइल्डले एक अन्तर्वार्तामा एन्फा नसुध्रिए आफू नेपाल नफर्कने भन्दै उज्बेकिस्तानबाट आफ्नै देश बेल्जियम गएका थिए।
यता नेपाली टोली स्वदेश फर्किएपछि हेड अफ डेलेगेट्स, टिम म्यानेजर र सहायक प्रशिक्षहरुले पत्रकार सम्मेलन गर्दै सबै घटनाक्रम र कप्तान चयन लगायत विषयमा मुख्य प्रशिक्षक वाइल्ड नै दोषी रहेको दावी गरेका थिए।
एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्दा उज्बेकिस्तानसँग ३-३ गोलको बराबरी खेलेपछि टाइब्रेकरमा चुकेर एसियन कपमा छनोट हुन सकेको थिएन।
