जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमाले राजनीतिमा ल्याउने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि स्थगन गरेको बताएका छन्। बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भण्डारी सक्रिय राजनीतिमा फर्किने कुरामा कडा रूपमा प्रतिवाद गरेपछि प्रधानमन्त्री ओलीले उक्त कदम चालेको बताएका छन्।
बस्नेत भन्छन्, ‘अहिलेको परिस्थितिमा विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने कुरा केपी ओलीले चाहेर सम्भव छैन। त्यसको लागि शेरबहादुर देउवाले अनुमोदन गर्नुपर्छ तर देउवाले केही दिन अघि प्रधानमन्त्री ओलीसँगको भेटमा सो विषयमा स्ट्रङ्गली विरोध जनाए। प्रधानमन्त्री पद धरापमा पार्ने सम्मको देउवाको अभिव्यक्तिबाट ओली त्यसै दिन बेस्सरी हच्किए।’
बस्नेत विद्यालाई एमाले राजनीतिमा स्थापित गराउने ओलीको भित्री चाहना हुँदाहुँदै परिस्थिति अनुकूल हुन नसकेको बताउँछन्। उनी भन्छन्, ‘ओलीसँग अहिले लगभग सबै दल र नेताहरू चिढिएका छन्। देउवा चिढिएको दिन यो सरकार ढल्छ। यो सबै बुझेर केपी ओलीले विद्यालाई पार्टीमा ल्याउने कुरालाई केही समयको लागि स्थगन गरेका हुन्।’
विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि हुन नपाउने कुनै ठुलो कुरा नभएको बस्नेत दाबी गर्छन्। उनी त्यसै पनि विधान महाधिवेशनले नेतृत्व चयन नगर्ने भएकोले त्यसले कुनै खास अर्थ नराख्ने बताउँछन्। अहिलेको सन्दर्भमा विद्या भण्डारीको एमालेको पार्टी सदस्यता भन्दा ओलीको लागि सरकारको नेतृत्व ठुलो भएको उनको तर्क छ। पार्टीको महाधिवेशनसम्म राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ ओली सोही अनुसार निर्णयमा पुग्ने र ओलीकै निर्णयले नै विद्याको राजनीतिक भविष्य निर्धारण हुने उनको भनाइ छ।