मोरङको बुढीगंगा गाउँपालिका–६ को कोयलपुरस्थित नहर नजिकको झाडीभित्र गत शनिबार अपराह्न एक युवतीको शव भेटिएको छ। शव सडेको र नग्न अवस्थामा थियो।

प्रहरीले शव अन्दाजी २० वर्षीया युवतीको हुन सक्ने अनुमान गरेको छ। तर, उनको पहिचान खुलेको छैन। चार दिनसम्म पनि पहिचान खुल्न नसकेपछि प्रहरीले युवतीका कपडा र गहना सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले शवको पहिचान गर्न सहज हुने अपेक्षासहित युवतीले लगाएका कपडा, गहना र हातमा लगाउने ब्यान्ड सार्वजनिक गरिएको जानकारी दिइन्।

‘‘सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएका छौँ। मृतकको पहिचान गर्न नै मुस्किल भएपछि उनका कपडा र गहना सर्वसाधारणको जानकारीका लागि राखेका हौँ,’’ उनले भनिन्।

उनका अनुसार, स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। शव सडिसकेको अवस्थामा भेटिएको थियो। कम्मरभन्दा तल लुगा थिएन। शवको नजिकै पाइन्ट, चप्पल, कपालमा लगाइने क्लिप भेटिएको थियो।

“यो कुनै दुर्घटना होइन, हत्या नै हो भन्ने हाम्रो प्रारम्भिक बुझाइ छ,’’ चुँडालले भनिन्।

प्रहरीले बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेको छ। तर, शवको पहिचान नै हुन नसकेकाले अनुसन्धान गर्न कठिनाइ भइरहेको छ।

चुँडालका अनुसार, शव बुढीगंगा औद्योगिक क्षेत्रमा भेटिएकाले युवती कुनै उद्योगमा काम गर्ने श्रमिक पनि हुन सक्ने अनुमान गरिएको छ।