मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ।
जसका कारण हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो भने देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।
आज राति देशभर साधरणतया बदली रही कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।