मोरङको बेलबारी नगरपालिका–८ स्थित बलुवाहीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४९ वर्षीया किस्मत (अनिमा) राजवंशी रहेको स्थानीयवासीहरूले जनाएका छन्।
घटना आइतबार बिहान करिब ३ बजेतिर श्री धिरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालय नजिकैको क्षेत्रमा भएको हो। विद्यालय छेउको पैनीबाट पानी लिँदै गरेकी राजवंशीमाथि अचानक जङ्गलबाट आएको हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी राजवंशीको अस्पताल लाने क्रममा ज्यान गएको बताइएको छ।
घटनास्थल जङ्गलबाट करिब ४–५ किलोमिटर तल पर्छ। पछिल्लो समय बेलबारी क्षेत्रका विभिन्न वडाहरूमा हात्तीको प्रवेश र आक्रमणको घटनाहरू दोहोरिइरहेका छन्।
घटनापछि नगरपालिकाको नगरप्रमुख, प्रहरी र वन कार्यालयको टोली घटनास्थल पुगेको थियो।