सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

मन्दिरको सिँढीको प्यासेज छेउमा मृत अवस्थामा भेटिएका पुरुष अन्दाजी ६०–६५ वर्ष उमेरका र तराई मूलका देखिने व्यक्ति भएको प्रहरीले जनाएको छ।

स्थानीयवासीले हिजो (सोमबार) राति करिब ९ः३० बजे इलाका प्रहरी चौकी बराह क्षेत्रमा खबर गरेपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। 

प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप टोली पनि घटनास्थलमा पुगेको थियो।

कानुनी प्रक्रिया पूरा गरी मृतकको शव सोमबार राति नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। मृतकको सनाखतका लागि प्रहरीले पहल गरिरहेको बताएको छ।