उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले रौतहटको वृन्दावन नगरपालिकाको बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ ।
वृन्दावन नगरपालिका उप–प्रमुख संगीता कुमारी रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेकी हुन् ।
अदालतका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले आइतबार नगर सभा अधिवेशनमा प्रस्तुत हुने बजेटको स्रोत, सीमा, कार्यक्रम , समेतका सम्बन्धमा नगरपालिका उपप्रमुखको महत्त्वपूर्ण भूमिका हुने देखिदा यथास्थितिमा राख्न आदेश दिएको हो ।
वृन्दावन नगरपालिकाले आउँदो यही असार १० गते ९ औँ बजेट अधिवेशन गर्ने तयारी गरेपनि यो आदेशसँगै अन्यौलमा परेको छ । नगरसभाको विषयमा छलफल गर्न असार १३ गते नगर उपप्रमुख राम र विपक्षी दुवैलाई बोलाएको अदालतले जारी गरेको पत्रमा उल्लेख छ ।

उक्त पत्रमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएकाले यो मुद्दाको पेसी असार १३ गतेलाई तोकिएको भनिएको छ । उपप्रमुख रामले आफूसँग कुनै राय सल्लाह नै नगरी नगर प्रमुख विनोद प्रसाद कुर्मीले एकलौटी ढंगले नगरसभा गर्न लागेपछि अदालतसम्म पुगेको बताएकी छन् ।
उपप्रमुखको अनुपस्थितिमा नगरसभा सञ्चालन गरिनु उचित नहुने भन्दै जनप्रतिनिधिहरू बिच पनि मतभेद देखिएको छ ।