एसीसी मेन्स यु–१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ।
नेपालले आइतबार मलेसियामा सम्पन्न भएको खेलमा ६ विकेटको जित हासिल गरेको हो। सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको छ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो। पहिलो खेलमा नै विजयी नेपालले २ अङ्क जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ।
गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोलीको छनोट गरिएको थियो।
प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता रहेको छ। सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो। दोस्रो खेलमा मङ्गलवार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतबार इन्डोनेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ।
हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल ५ जुलाई ९असार २१० मा फाइनल हुनेछ।