राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौँ नेपाली युवाको सपना र सिङ्गो भविष्यमाथिको सुनियोजित ढकैती भएको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले युवाहरूको विवशताको भुईँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्युजियम बनाउने बताए।
उनले भने, ‘युवाहरूको विवशताको भुईँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ। यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रूपमा देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ। कहिले सुनलाई बिस्कुट भनेर भित्राउँछ। लाग्छ अब यो देश छिटै नै भ्रष्टाचारको म्युजियम बन्दै छ। यसको सूचीमा नयाँ काण्ड थपिएको छ। भिजिट भिसा काण्ड यो सामान्य ठगी होइन, यो हजारौँ नेपाली युवाको सपना र सिङ्गो भविष्यमाथिको सुनियोजित डकैती हो। सरकारले यसमाथि छानबिन गर्नुपर्छ।’
यस्तै उनले सदन केवल बहुमतको अङ्कगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए।
उनले भने, ‘एक महिनादेखि यो सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ र हामीलाई यसको दर्शक बन्न बाध्य पारिएको छ। सदन केवल बहुमतको अङ्कगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्छ। आज लाखौँ युवा रोजगारीको खोजीमा मरुभूमिका पसिना बगाइ रहेका छन्। यो उनीहरूको रहर होइन देश हाक्नेहरुको असफलताले जन्माएको राष्ट्रिय विवशता हो।’
रास्वपा सङ्ख्यामा थोरै भएपनि कमजोर नभएको भन्दै रास्वपाले आफ्नो माग कायमै राख्ने पनि उनको भनाई छ।