धनुषाको नगराईन नगरपालिका वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलले सार्वजनिक बोट वृक्षहरू कटान गरेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका छन् ।
नगराईन नगरपालिकास्थित सटहीमा शनिवार बिहानदेखि दर्जनभन्दा बढी बोटवृक्ष कटान गरेको विरोधमा स्थानीय रोहित चौधरीले अनिश्चितकालीन अनसनमा बसेका छन् ।
दर्जनभन्दा बढी आँप, लिची, धातृलगायतका रुखहरू काट्ने क्रममा विरोध गर्दा स्थानीय सत्य चौधरीलाई समेत कार्यवाहक वडाध्यक्ष रामपरी देवी मण्डलको निर्देशनमा उनका मान्छेहरूले कुटपिट गरेको अनसनकारी रोहित चौधरीले जानकारी दिए ।
अनसनमा बस्दै रोहित चौधरीले भने, ‘कार्यवाहक वडाध्यक्ष मण्डलले प्रकृतिलाई दोहन हुने गरी फलफुललगायत प्रकृति तथा वातावरणलाई संरक्षण गर्ने रुखहरू बेमतलबमा काटेको र सोको विरोध गर्दा गुण्डा लगाएर कुटपिट गरेपछि आफूले उनको कार्यशैलीको विरोधमा अनसनमा बसेको छु ।’
उनले कार्यवाहक वडाध्यक्षको कार्यशैली र रुख काटेको विरोध गरेपछि गुण्डा लगाएर दुर्व्यवहार गर्दैै कुटपिट गर्न थालेपछि आफू अनसनमा बसेको बताए ।