काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको यात्रुवाहक बस आज दिउँसो ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ मा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बाग्मती प्रदेशको ०१–००६ ख ५५८१ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेको हो।
घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्य दुई जनाको ढाड र करङमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको रमाईलोडाँडाको मेडिकल पोलिक्लिनिकमा उपचार भइरहेको छ।
निरन्तर वर्षाले सडक चिप्लिएको र बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ। चालक फरार छन् भने बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।